लुनकरणदास–गंगादेवी चौधरी सहित्यकला मन्दिरको अध्यक्षमा मेघा चैधरी

लुनकरणदास–गंगादेवी चौधरी सहित्यकला मन्दिरको अध्यक्षमा मेघा चैधरी

काठमाडौं । विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ । 

बुधबार काठमाण्डौको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार बसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् । 

यस्तै, कार्यसमिति सदस्यहरुमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ । 

नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन् । यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रुपमा चौधरीले काम गरेका थिए । उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एकमात्र पुत्री मेघा चौधरीले पाएकी हुन् । 

बुधबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ कवि बसन्त चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको स्मरण गर्दै आफ्नी पुत्री मेघालाई सो जिम्मेवारी सुम्पिन पाएकोमा प्रसन्नता प्रकट गरे । ‘मेरी छोरीमा मभन्दा पनि राम्रो नेतृत्व क्षमता छ,’ उनले भने, ‘बासना फैलाउने गुलाबको सुन्दर फूल झै मेरी छोरीले पनि आफ्नो क्षमताले यो संस्थालाई समेत नयाँ उचाई दिनेछिन् भन्ने विश्वास छ । आगामी दिनमा अझ बढी सेवाको कार्य हुनेछ ।’

उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको स्मरण गर्दै नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको समेत बताए । 

सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र बिस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे । 

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कलासाहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्यकला मन्दिरले विशिष्ट योगदान पुर्याएको बताए । 

साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी वृहत उद्देश्यसहित अगाडि बढ्ने एजेण्डा पारित भएको छ । यसका लागि विधान संसोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् । 

साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित भएको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस