पाँच बैंकले बढाए ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

बैंक खबर । बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएका छन् । निक्षेपको ब्याजदर निर्धारणमा बैंकहरूले भद्र सहमति खारेज गरेपछि साउन महिनामा घट्ने अपेक्षाका बाबजुत केही बैंकले ब्याजदर बढाएका छन् ।
अहिले वित्तीय प्रणालीमा साढे चार खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । यही कारण देखाएर बैंकर्स संघले भद्र सहमति खारेज गरी आ–आफ्नो अनुकूल ब्याजदर कायम गर्न बैंकहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको थियो । यसबाट धेरैले ब्याजदर घट्ने अपेक्षा गरेका थिए । तर अपेक्षा विपरित केही बैंकले निक्षेपमा ब्याजदर बढाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाउनेमा एनएमबी बैंक, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक छन् ।
असारमा सबै वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम राखेका थिए । ब्याजदर निर्धारणमा बैंकहरू स्वतन्त्र भएपछि ५ वाणिज्य बैंकले ब्याजदर बढाएका छन्, ६ वटाले स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् । आ–आफ्नो हैसियतमा ब्याजदर निर्धारण गर्न स्वतन्त्र भएपछि ब्याजदरमा विविधता देखिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गर्दा अघिल्लो महिनामा कायम ब्याजदरको तुलनामा १० प्रतिशत बढाउन वा घटाउन सक्ने व्यवस्था गरेको छ । यस्तै, व्यक्तिगत मुद्दतीको तुलनामा संस्थागत मुद्दतीलाई दिने ब्याजदरको फरक दुई प्रतिशत हुनुपर्ने व्यवस्था छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर पाँच प्रतिशत विन्दुभन्दा बढी हुन नहुने व्यवस्था छ । यस्तै, बचतमा दिइने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमाबीचको अन्तर पनि दुई प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था छ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न पाइँदैन ।
साउनमा तोकिएका ब्याजदरमध्ये एनएमबी बैंकले १० वर्ष भन्दा माथिको लागि तोकेको ब्याजदर सबैभन्दा धेरै छ । एनएमबी बैंकले १० वर्षमाथिको मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर तोकेको छ । एनएमबी बैंकपछि एनआईसी एसियाले अधिकतम १०.९३ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै, प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशत ब्याजदर दिँदा नबिलले अधिकतम १०.४९ प्रतिशत र कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेका छन् ।
ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन् । यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत नै कायम राखेका छन् । सानिमा, कृषि विकास, एभरेष्ट, प्रभु, सिद्धार्थ, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले असारको तुलनामा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदार ९.५२ प्रतिशतमा झारेको छ । यस्तै, कृषि विकास बैंकले ९.५१ प्रतिशत, एभरेष्टले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत, सिद्धार्थले ९.५० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९५ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन् ।
बैंकहरूले यसअघि लगानीयोग्य रकमको अभाव भएपछि एक–आपसमा निक्षेपको तानातान हुने भन्दै ब्याजदरमा भद्र सहमति गरी कार्टेलिङ गर्दै आएका थिए । बैंकर्स संघले घटाउने निर्णय गर्दा घटाउने र बढाउने निर्णय गर्दा बढाउने गर्दै आएका थिए । त्यसो हुँदा सबै वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता थियो । अहिले ब्याजदर निर्धारणमा स्वतन्त्र भएपछि बैंकहरूले निक्षेपको अवधि र प्रकृतिअनुसार फरक–फरक ब्याजदर कायम गरेका छन् ।
२०८० साउन महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर
बैंक | अधिकतम ब्याजदर |
एनएमबी बैंक | १०.९८ |
एनआईसी एसिया बैंक | १०.९३ |
प्राइम कमर्सियल बैंक | १०.९३ |
नबिल बैंक | १०.४९ |
कुमारी बैंक | १०.०१ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ९.९९ |
नेपाल एसबीआई बैंक | ९.९९ |
ग्लोबल आईएमई बैंक | ९.९९ |
हिमालयन बैंक | ९.९९ |
लक्ष्मी सनराइज बैंक | ९.९९ |
सिटिजन्स बैंक इन्टरनेसनल बैंक | ९.९९ |
सानिमा बैंक | ९.५२ |
कृषि विकास बैंक | ९.५१ |
एभरेष्ट बैंक | ९.५० |
प्रभु बैंक | ९.५० |
सिद्धार्थ बैंक | ९.५० |
माछापुच्छ्रे बैंक | ९.०० |
राष्ट्रिय वाणिज्य बैंक | ८.९९ |
नेपाल बैंक | ८.९९ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ८.९५ |
All financial information at your fingertips.