नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

२०८२ असार २८ गते शनिबार ।
काठमाडौँ । नबिल बैंक ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभइ समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।
४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजकुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि आभार व्यक्त गरे ।
स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ ।
बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४० अर्ब रुपैयाँ ३ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादनमा सहयोगी हुँदै, सूक्ष्म, लघु, साना तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड रुपैयाँ र ब्याज अनुदानित योजनामार्फत सात अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सूचकांकमा अब्बल
बैंकले हरेक प्रमुख सूचकहरूमा अत्यन्तै सकारात्मक प्रगति गरेको छ । पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, सम्पत्तिदेखि शाखा विस्तारसम्म र मानव संशाधनमा बैंकले आफूलाई अब्बल बनाएको छ ।
आर्थिक वर्ष २०४१/४२ मा बैंकको नेटवर्थ दुई करोड ८० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ६१ अर्ब २४ करोड ७० लाख पुगेको छ भने निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर आव २०८१/८२ मा आइपुग्दा ५ खर्ब १० अर्ब ६६ करोड ९० लाख पुगेको छ ।
बैंकका अनुसार कर्जा प्रवाह आव २०४१/४२ मा १३ करोड ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर ४ खर्ब १५ अर्ब ८२ करोड ९० लाख पुगेको छ । बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर आ.व २०८१/८२ को तेस्रो त्रैमाससम्म ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख पुगेको छ ।
प्रारम्भिक वर्षमा बैंकको कर पछिको नाफा १० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सुरुआती समयमा दुई वटा शाखा र १४४ जना कर्मचारीबाट सुरु भएको बैंकको यात्रा अहिले २६८ शाखा र २,४३१ कर्मचारी पुगेको छ ।
बैंकले देशभर दुई सय ६८ शाखा, तीन सय २१ एटिएम र २१ एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले डिजिटल बैंकिङतर्फ मोबाइल बैंकिङ, एनबैंक, क्यूआर भुक्तानी, अनलाइन कर्जा र अनलाइन खाताखोल्ने जस्ता सेवा सुरु गरिसकेको छ ।
वार्षिकोत्सवमा विशेष योजना
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रतिको आभार स्वरूप ४१ दिने विशेष अफर ल्याएकोे छ । यहि असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ । यो अफर कुनै पनि बचत योजना अन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकका लागि लागू हुनेछ ।
यस्तै, नबिल बैंकले वार्षिकोत्सवको अवसरमा महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
हिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको हो । यस योजनाअनुसार महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।