जीवन बीमा कम्पनीहरुले पाँच महिनामा संकलन गरे ६६ अर्ब बढी बीमाशुल्क
२०८१ पुस ११ गते बिहीबार ।
बीमा खबर । जीवन बीमा कम्पनीहरूले पाँच महिनामा ६६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर) सम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपैयाँले भएको छ । कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
मंसिरसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क १२ अर्ब ४७ करोड एक लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क एक अर्ब १८ करोड ९७ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क ५२ अर्ब आठ करोड १९ लाख रुपैयाँ सङ्कलन गरेका छन् । यस्तै तीनवटा लघु बीमक कम्पनीहरूले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क २१ करोड १७ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क १९ करोड चार लाख रुपैयाँ र नवीकरण बीमाशुल्क १२ लाख रुपैयाँ सङ्कलन गरेका छन् । लघु जीवन बिमक कम्पनीहरूले पाँच महिनामा ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा धेरै बीमाशुल्क सङ्कलन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । मंसिर मसान्तसम्म नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा नेसनल लाइफले सात अर्ब ९८ करोड ६८ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०ले सात अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि हिमालयन लाइफले छ अर्ब ७९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन अर्ब ९९ करोड, एसियन लाइफले तीन अर्ब ३६ करोड, सिटिजन लाइफले दुई अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले दुई अर्ब ५९ करोड, मेट लाइफले दुई अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले दुई अर्ब २५ करोड, प्रभु महालक्ष्मीले एक अर्ब ९४ करोड, रिलायन्स नेपाल लाइफले एक अर्ब ९२ करोड, आईएमई लाइफ इन्स्योरेन्सले एक अर्ब ८९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँबराबर बीमाशुल्क सङ्कलन गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले एक खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँ बीमाङ्कबराबरको तीन लाख ७७ हजार नौ सय २८ वटा बीमालेख बिक्री गरेका छन् । मंसिरमा जीवन बीमा कम्पनीहरूले नौ अर्ब ३९ करोड ४३ लाख रुपैयाँबराबरको नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।
मंसिरसम्म १४ वटा जीवन बीमा कम्पनीहरूसँग सक्रिय रहेको बीमालेखको संख्या एक करोड ३३ लाख ४२ हजार दुई सय ४६ रहेको छ । यस्तै तीनवटा लघु बीमा कम्पनीहरूसँग मंसिरसम्म सक्रिय रहेको बीमालेखको संख्या चार लाख ९६ हजार छ सय ३१ रहेको छ ।