शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू 

शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू 

बैंक खबर । धतोपत्र/शेयरमा लगानी गर्दा सम्बन्धीत कम्पनीको विभिन्न पक्षको अध्ययन गर्नु पर्दछ । कम्पनीका संस्थापकहरुको स्थिति, कम्पनीको वित्तीय स्थिति, व्यवस्थापन समूह, कम्पनीले उत्पादन गर्ने वस्तु तथा सेवाको विषयमा समेत शेयर खरिद गर्नुअघि अध्ययन गर्दा राम्रो हुन्छ । 

(क) कम्पनीका संस्थापकहरूको स्थिति 
जुन कम्पनीको शेयरमा लगानी गर्न चाहेको हो, सो कम्पनीका संस्थापकहरूको शैक्षिक योग्यता, कम्पनी सञ्चालन सम्बन्धी अनुभव, हाल संलग्न पेसा, व्यवसाय र ती व्यवसायको वित्तीय स्थिति, व्यवसायिक छवि, सामाजिक पहिचान, अन्तर्राष्ट्रिय सम्पर्कजस्ता तथ्य बारे जानकारी लिनु पर्दछ । 

(ख) कम्पनीको वित्तीय स्थिति 
कम्पनीको वित्तीय स्थिति अर्थात् सम्बन्धित कम्पनीको अधिकृत पूँजी, चुक्ता पूँजी, ऋण व्यवस्थापन, मुनाफाको स्थिति, आम्दानीको स्रोत, खुद नाफा/नोक्सान, प्रति शेयर आम्दानी, सञ्चित नाफा, जगेडा कोषहरू, वास्तविक सम्पत्ति, खर्च व्यवस्थापन, कर्मचारीको उत्पादकत्व जस्ता विभिन्न वित्तीय परिसूचकहरू बारे जानकारी लिनु पर्दछ । 

(ग) व्यवस्थापन समूह 
व्यवस्थापन समूहको र कम्पनीमा कार्यरत कर्मचारीको दक्षता र अनुभव, कार्यसम्पादन स्तर, उनीहरूले विगतमा अन्य कुनै निकायको व्यवस्थापनको जिम्मेवारी लिएको भए त्यसको परिणाम, कार्यरत कर्मचारीले कम्पनीको जागिर छोड्ने दर बारे पनि जानकारी लिनु उपयुक्त हुन्छ । 

(घ) वस्तु तथा सेवा 
कम्पनीले उपलब्ध गराउने वस्तु तथा सेवा र बजारमा तिनको माग तथा आपूर्तिको अवस्था, बिक्री वितरणको स्थिति, दीर्घकालीन माग र बिक्री वितरणको सम्भावना, नयाँ वस्तु तथा सेवा विकासको सम्भावना, सम्भाव्य आर्थिक तथा व्यवसायिक परिवर्तन तथा आर्थिक चक्रमा आफ्नो अस्तित्व बचाइ राख्नसक्ने क्षमताका साथै भावी रणनीति बारे पनि जानकारी लिनु मनासिब हुन्छ । 

शेयर निवेदन भर्दा ध्यान दिनुपर्ने कुराहरू 
प्राथमिक शेयर निष्काशनमा सि-आस्वा प्रणाली अनिवार्य भएको छ । यसको मतलब अब प्राथमिक शेयर निष्कासन, आइपिओ, एफपिओ र हकप्रद शेयर खरिदका लागि आवेदन दिँदा सि-आस्वा प्रणालीको प्रयोग गर्नुपर्ने हुन्छ । अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणालीमा आबद्ध गरी एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सि-आस्वामा हुन्छ । सि-आस्वाले शेयर लगानीकर्ताहरूलाई निकै सहज बनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस