ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी कति ?


बैंक खबर । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ४६.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ थियो ।

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफ पनि ४४.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १८ करोड ७७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा १० अर्ब ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप ५३.९३ प्रतिशतले बढेर ४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर केही कम छ । एक वर्षमा बैंकको कर्जा लगानी ३८.०९ प्रतिशतले बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप २ खर्ब ७६ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ थियो भने कर्जा लगानी २ खर्ब ५८ अर्ब ८ करोड ७५ लाख रुपैयाँ थियो । 

जगेडा कोष
३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये १९ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

सूचकहरु
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी घटेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८४ पैसा थियो ।
यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ९.१७ गुणा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा र कस्ट अफ फण्ड ८.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.७१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड ९२ लाख २६ हजार रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ८ रुपैयाँ २७ पैसा छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस