सिटिजन्स बैंकको नाफा बढ्यो
बैंक खबर । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०मा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा १०.४१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा पनि वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८६ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा १७.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको कुल सञ्चालन मुनाफा २ अर्ब ७० करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा बैंकले १ खर्ब ६८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप साढे १० प्रतिशतले बढेको छ ।
१४ अर्ब २० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड रुपैयाँ सञ्चितिमा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा २१.९८ प्रतिशतले घटेर एक अर्ब ३ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको ईपीएस, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।
All financial information at your fingertips.