औद्योगिक क्षेत्रको कर्जा ६.९ प्रतिशत घट्यो, पुससम्म साढे १३ खर्ब कर्जा प्रवाह


बैंक खबर । बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा प्रवाह गरेको कर्जा ६.९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको अर्थधावर्षिक प्रतिवेदन अनुसार २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६.९ प्रतिशतले कमी भई १३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो । 

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७.९ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १.३ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.१ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९.६ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १३ प्रतिशत, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

प्रतिवेदन अनुसार सम्बन्धित प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट भएको लगानीका आधारमा औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ (६७.२१ प्रतिशत) कर्जा लगानी रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ५ अर्ब २८ करोड कर्जा रुपैयाँ (०.३९ प्रतिशत) लगानी रहेको छ ।

औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५२ प्रतिशत, मधेश प्रदेशको ८.४९ प्रतिशत, बागमती प्रदेशको ६७.२१ प्रतिशत, गण्डकी प्रदेशको २.९७ प्रतिशत, लुम्बिनी प्रदेशको ९.२५ प्रतिशत, कर्णाली प्रदेशको ०.३९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जाको हिस्सा २.१७ प्रतिशत रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस