सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल बैंक, ९ महिनामा कमायो ५ अर्ब ५ करोड नाफा


२०८२ वैशाख ७ गते आइतबार । 

बैंकको खबर । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको छ । आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत बढी हो । गत वर्ष तेस्रो त्रैमासम्म बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ कमाएको थियो । 

बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि देखिएको हो । इम्पेयरमेन्ट चार्ज ३ अर्ब २३ करोड रुपैयाँबाट घटेर २ अर्ब २९ करोडमा झरेको छ । यहीकारण नाफामा सुधार देखिएको हो । 

बैंकले २०८१ चैत मसान्तसम्म ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसपटक बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । विवरणअनुसार खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी भने २.२७ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ । नौ महिनामा बैंकको सञ्चालन मुनाफा सात अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । एक वर्ष अघि छ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ थियो ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षअघिको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ पाँच पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १९.४४ गुणा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा छ । 

बैंकको खुद निष्क्रिय कर्जा १.२७ प्रतिशतबाट बढेर १.५९ प्रतिशत पुगेको छ । 

बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर वितरणयोग्य आम्दानी १२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ । 

 

All banking information at your fingertips.

शेयर गर्नुहोस