'बैंकहरुको मनोमानी बढ्यो, सर्वसाधारणले कर्जा पाएनन, राष्ट्र बैंकमाथि २१ अर्बको भार पर्यो' - प्रभु साह


२०८२ वैशाख २६ गते शुक्रबार । 


बैंकको खबर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बैंकहरुको मनोमानीका कारण सर्वसाधारण लगानीकर्ताले कर्जा पाउन नसकेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले बैंकहरुमाथि यस्तो आरोप लगाएका हुन् । 

उनले बैंकहरुले लुटको मनोमानीले गर्दा उनीहरु आफै अस्तव्यस्त भएको पनि बताए । यहीकारण एकातिर आम जनताले कर्जा पाइरहेका छैनन् भने अर्कोतिर बैंकमै पैसा थुप्रिएर बसेको उनले बताए । 

बैंकहरुले ऋण प्रवाह नगर्दा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनले बताए । बैंकहरुले जनताबाट ब्याज नदिइ पैसा उठाउने र जनताकै पैसाबाट राष्ट्रबैंकबाट ब्याज लिने प्रवृति देखिएको दाबी गर्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

उनले सरकारले गभर्नर नियुक्त गर्न नसकेकोमा पनि आशंका व्यक्त गरे । सत्तारुढ पार्टीहरुको आन्तरिक द्वन्द्वका कारण गभर्नर नियुक्त हुन नसक्नु राम्रो संकेत नभएको बताए । उनले दलहरुकै कारण देशको अर्थतन्त्रमा असर परेको पनि बताए । 

शेयर गर्नुहोस