बैंक तथा वित्तीय संस्थामा २० करोड निक्षेप राख्दै राष्ट्र बैंक
२०८२ वैशाख २५ गते बिहीबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गरेर कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।
राष्ट्र बैंकले २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख २८ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा १६ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा तीन करोड रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कमपनीमा एक करोड रुपैयाँ निक्षेप राखिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले सोही अनुसार आवेदन दिन सक्नेछन् ।
प्रस्ताव पेश गर्नका लागि केन्द्रीय बैंकले तोकेका सर्तहरु भने पुरा गरेको हुनुपर्नेछ ।