खराब कर्जा नियन्त्रण गर्न प्राथमिकता क्षेत्रको सुधार आवश्यक छः गभर्नर पौडेल

खराब कर्जा नियन्त्रण गर्न प्राथमिकता क्षेत्रको सुधार आवश्यक छः गभर्नर पौडेल

२०८२ असार २२ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा खराब कर्जा बढ्दा वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले खराब कर्जा नियन्त्रणका लागि प्राथमिकतामा राखिएका क्षेत्रको सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

गभर्नर पौडेलले ठूला उद्यमी तथा व्यवसायीलाई मात्र लक्षित गरेर बनाइने मौद्रिक नीतिले अर्थतन्त्रको समस्याको समाधान नगर्ने स्पष्ट पारे ।

उनले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर ल्याउने तयारी भइरहेको जानकारी समेत दिए ।, 

गभर्नर पौडेलले समग्र आर्थिक समस्या समाधानका लागि पूर्वाधार क्षेत्रमा लगानी विस्तार जरुरी रहेको बताए। अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधानका लागि वित्त नीतिले नेतृत्व गरेर ऊर्जा, सडक, पुलजस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक रहेको उनले बताए । उनले मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको वासलात व्यवस्थापनभन्दा बढी सूक्ष्म सूचकहरूमा ध्यान दिने बताए ।


शेयर गर्नुहोस