भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

२०८२ असार ५ गते बिहीबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले दुई वटा पेमेन्ट सेवा प्रदायक कम्पनीहरूको अनुमति खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।
पेवेल नेपालले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ फागुन १९ गते भुक्तानी सेवा प्रदायकको काम गर्नेगरी अनुमति पाएका थिए । तर दुवै कम्पनीले भुक्तानी तथा फस्र्याट ऐन २०७५, भुक्तानी तथा फस्र्याट विनियमावली २०७७ र भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४का प्रावधानहरुको उल्लंघन गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २०८२ असार ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार दुवै कम्पनीको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै सरोकारवालालाई यसबारे पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज गरिएकोले कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
यसअघि यि दुई कम्पनी हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भएकोे भेटिएपछि बैंक खाता रोक्का गरि अनुसन्धान सुरु गरेको थियो ।