सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब पुग्यो, गत आर्थिक वर्षमा मात्रै ९१ अर्ब ५९ करोड बेरुजु

२०८२ वैशाख १ गते बुधबार ।
अर्थतन्त्र । सरकारी निकायहरुको बेरुजु १२ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यो बेरुजु सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको हो ।
महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२ औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ थपिएको छ । गत आर्थिक वर्षमा बेरुजु अघिल्लो आर्थिक वर्षमा भन्दा नौ दशमलव ४५ प्रतिशत बेरुजु बढेको छ ।
सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख रुपैयाँ बराबर छ ।
त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड रुपैयाँ गरी कुल १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ बराबर पुगेको हो ।
सङ्घीय सरकारी कार्यालयको बेरुजु तीन खर्ब ७५ अर्ब ४७ करोड पैयाँ, प्रदेश सरकारी कार्यालयको ३० अर्ब ४८ करोड १९ लाख रुपैयाँ, स्थानीय तहको दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रुपैयाँ र समिती तथा अन्य संस्थाको एक खर्ब १७ अर्ब ९४ करोड रुपैयाँ छ ।