विदेशी विनिमय सञ्चिति करिब १९ प्रतिशत बढ्यो

विदेशी विनिमय सञ्चिति करिब १९ प्रतिशत बढ्यो

२०८२ वैशाख २९ गते सोमबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले बढेको जनाएको छ ।

आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ चैत मसान्तमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । 

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ चैत मसान्तसम्म १५ दशमलव चार प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । 
    
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकामा २०८१ चैत मसान्तमा ५० दशमलव आठ प्रतिशतले वद्धि भई दुई खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत छ । 

आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना तीन दिनलाई पुग्ने महिनाको वस्तु आयात र १४ महिना छ दिनलाई पुग्ने वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


शेयर गर्नुहोस