सुनको मूल्य किन बढिरहेको छ ?

अर्थतन्त्र । २०७९ फगुन २५ गते नेपालमा सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ थियो । त्यसको ठिक एक वर्षपछि २०८० फागुन २५ गते सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । एक वर्षमा सुनको मूल्य तोलामा २४ हजार रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २१ सय ६७ अमेरिकी डलर पुगेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुलाई अमेरिकी नीति र विश्वका केही भागमा जारी युद्ध र असान्तीलाई प्रमुख कारण मानिएको छ । किनभने अमेरिकाले ब्याजदर घटाउँदा डलरमा लगानी भएको र बैंकमा निक्षेप राखेको पैसा सुनतर्फ मोडिन्छ । 

कोभिड–१९को प्रभाव र रुस युक्रेन युद्धको असरले अमेरिकामा महँगी बढ्यो र त्यसको नियन्त्रणका लागि केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाइदियो । अहिले अमेरिकाको मूद्रास्फीति दर घटदै गएको छ । यहीकारण केन्द्रीय बैंकले ब्याजदर घटाउने अनुमान गरिएको छ ।

अमेरिकामा ब्याजदर कटौतीको बढ्दो अपेक्षाले गर्दा सुनको भाउ बढ्न मद्दत पुगेको विश्लेषणहरु गरिएका छन् । विश्लेषकहरुले पनि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने योजना बनाएको भन्दै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढीरहेको अनुमान गरिरहेका छन् । यहीकारण नेपालमा पनि सुनको भाउले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । 

सामान्यतया जुन देशको ब्याज बढ्छ त्यो देशको मुद्राको आकर्षण बढ्छ । त्यसको ठिक विपरित ब्याजदर घट्दा मुद्राको आकर्षण पनि घट्छ । अमेरिकामा पनि फेडले ब्याजदर घटाउने हल्लापछि डलरमा आकर्षण घट्दै गएको छ । अर्थात यो भनेको डलरमा भएको लगानी घट्दै गएको छ भने लगानीकर्ताहरु सुन तर्फ झुम्मिएका छन् । यहि कारण सुनको माग ह्वात्तै बढेर गएको छ । सुनको माग बढ्दा मूल्य पनि बढ्ने गर्छ ।

ब्याजदर घट्दा मानिसहरुले बैंकमा राखेको पैसा झिक्छन र कम्पनीको सेयर, डिवेन्चर, कमोडिटिज लगायतका क्षेत्रमा लगानी गर्छन् । त्यसमध्ये सबैभन्दा सुरक्षित मानिने सुनमा पनि लगानी गर्छन । अहिले बैंकमा जम्मा भएको पैसा र डलरमा गरिएको लगानी झिकेर लगानीकर्ताले सुन किनिरहेका छन् । यहिकारण सुनको भाउले नयाँनयाँ रेकर्ड बनाइरहेको छ । 

नेपालमा कसरी गरिन्छ सुनको मूल्य निर्धारण ?
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा तलमाथि पारिन्छ । अन्तर्राष्ट्रिय बजारमा भएको भाउलाई डलरको विनिमयदरले गुणन गरिन्छ र त्यसमा भन्सार शुल्क र सञ्चालन खर्च जोडेर मूल्य निर्धारण गरिन्छ ।

के सुनको मूल्य अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने हल्लाले मात्रै बढीरहेको छ ? 

पक्कै पनि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने हल्लाले मात्रै सुनको मूल्य बढेको भने होइन । तर विभिन्न कारणहरुमध्ये यो एउटा प्रमुख कारण भने हो ।

अहिले रुस युक्रेन युद्ध, मध्यपुर्वमा चर्किएको असान्ती लगायतका फ्याक्टरहरुले पनि असर पारिरहेको छ । विश्वको अर्थतन्त्रमा महत्व राख्ने मुलुकमा अस्थिरता निम्तिदा लगानीकर्ताले सुनमा गरिने लगानीलाई सबैभन्दा बढी भरपर्दो ठान्दछन् । 

एक वर्ष यता सुनको मूल्य २४ प्रतिशत भन्दा बढीले बढ्नुमा यी देशमा देखिएको अस्थिरता पनि प्रमुख कारणहरुमध्ये पर्छ । 

सुनको मूल्य कतिसम्म बढ्न सक्छ ?
सुनको मूल्य थप बढ्नसक्ने अडकलबाजी गरिएका छन् । किनभने अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने हल्ला भएपनि घटाइसकेको छैन । आगामी जुन महिनासम्म ब्याजदर घटाउने हल्ला छ । त्यसैले यसहको असर केही महिना रहनसक्छ । 

नेपालको आन्तरिक मागमा कस्तो असर परेको छ ?
व्यवसायीहरुले सुनको मूल्य बढ्दै जाँदा मागमा प्रभाव परेको बताएका छन् । विवाहको लगनमा पनि दिनमा १५/२० किलोग्रामको कारोबार हुन नसकेको व्यवसायीहरु बताउँछन् । 

यस आर्थिक वर्षको सात महिनामा कति भयो सुन आयात ?
यस आर्थिक वर्ष २०८०/८१ को साउन देखि माघ मसान्तसम्म ११ अर्ब ७० करोड रुपैयाँ बराबरको १४ सय किलो सुन आयात भएको छ । 

अहिले राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । भन्सार विभागको आकडा अनुसार यो सात महिनामा सुन आयातबाट एक अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गतवर्षभन्दा सुनको आयात यसवर्ष केही घटेको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८०को साउन देखि माघ मसान्तसम्म १४ सय ६६ किलोग्राम सुन आयात भएकामा अहिले सोही अवधिमा १४ सय किलोग्राम मात्रै सुन आयात भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस