भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार


अर्थतन्त्र । नेपालले भ्रष्टाचार अनुभूति सूचकांकमा सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल १०८औँ स्थानमा देखिएको छ । सन् २०२२ मा नेपाल ११०औँ स्थानमा थियो ।

सन् २०२३मा नेपाल ३५ अङ्कसहित १०८औँ स्थानमा देखिएको हो । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित ११०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अंकसहित ११७औँ स्थानमा थियो ।

नेपालका दुई छिमेकी मुलुकमा भारत ३९ अङ्कसहित ९३औँ स्थानमा र चीन ४२ अङ्कसहित ७६औँ स्थानमा छन् ।

डेनमार्क ९० अंकसहित विश्वमै भ्रष्टाचार कम हुने मुलुकमा पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचौं स्थानमा छन् । त्यसपछि स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् ।

सोमालिया ११ अंकसहित सबैभन्दा अन्तिममा १८०औँ स्थानमा छ । भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन्  । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेको थियो ।

शेयर गर्नुहोस