बैंकमा निक्षेप थुप्रियो, ३५ अर्ब तान्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । यो पैसा १४ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोलमार्फत तान्न लागेको हो ।

केन्द्रीय बैंकले मंसिर ६ गतेयता बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १८ पटकसम्म निक्षेप संकलन बोलकबोलमार्फत पैसा तानेको छ । मंगलबार १९औँ पटक तान्न लागेको हो । 

केन्द्रीय बैंकले अहिलेसम्म दुई खर्ब ८२ अर्ब रुपैयाँ प्रणालीबाट खिचेको देखिन्छ । तीन खर्ब २५ अर्ब रुपैयाँ तान्नका लागि आह्वान गरेको थियो ।

बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदै गएकाले व्यवसाय गर्दा जोखिम हुने भएपछि बैंकमा निक्षेप राखेर ब्याज खानेहरु बढेका छन् । यही कारण बैंकमा निक्षेप तीव्र बढिरहेको छ भने कर्जाको माग बढ्न सकेको छैन । कर्जाको ब्याजदर एकल विन्दुमा अफर गर्दा पनि कर्जा जान नसकेको एक बैंकरले बताए ।

आज बिक्री गर्न लागेको निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । निक्षेप उपकरणको साँवाब्याज भुक्तानी माघ ९ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलकबोल पेस गर्न सक्नेछन् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस