धमाधम ब्याजदर घटाउँदै बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएपछि बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाउन थालेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर तथा नीतिगतदरहरु घटाएको थियो । यसअघि बैंकहरुले मासिक रुपमा ब्याजदर परिवर्तन गर्दै आएको भएपनि बैंकदर तथा नीतिगत दरहरु परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गर्न सकिने व्यवस्था अनुसार केही बैंकले ब्याजदर घटाएका हुन् । 

राष्ट्र बैंकले बैंक दर ७.५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यस्तै नीतिगत दरलाई ६.५० प्रतिशतबाट ५.५० प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दरलाई ४.५० प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ । योसँगै बैंकहरुले पनि धमाधम ब्याजदर घटाएर सार्वजनिक गर्न थालेका हुन् । 

अहिलेसम्म तीन वटा वाणिज्य बैंकले ब्याजदर परिवर्तन गरेका छन् । कुमारी बैंक, एनआईसी एशिया र एनएमबि बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । एनआईसी एसियाले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ  भने कुमारीले मंसिर २४ गते आइतबारदेखि नै घटेको ब्याजदर कार्यान्वयनमा लयाएको छ । यस्तै एनएमबि बैंकले पनि सोमबारदेखि लागू हुनेगरी घटेको ब्याजदर सार्वजनिक गरेको छ । 

एनआईसी एशियाले मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्याजदर कायम गरेको छ । मंसिरमा यो बैंकको अधिकतम ब्याजदर ८.९७ प्रतिशत छ । 

कुमारी बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.६१ प्रतिशत तोकेको छ । आइतबार अघिसम्म कुमारी बैंकले मुद्दती निक्षेपमा १०.१० प्रतिशत ब्याज दिँदै आएको थियो । सोमबार देखि नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज तोकेको छ । त्यसअघि एनएमबिले १०.५० प्रतिशत ब्याज दिँदै आएको थियो । 
केही महिना यता बैंकहरुमा निक्षेप थुप्रिदै गएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा तरलता थुप्रिदै गएको हो । 

तरलता अधिक भइरहेका बेला राष्ट्र बैंकले बैंक दर र नीतिगत दरहरु घटाएर ब्याजदर तल ल्याउन खोजेको देखिन्छ । जसले गर्दा बैंकहरुलाई पनि ब्याजदर घटाउन सहज भएको छ । तथ्याङ्क अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा पाँच खर्ब हाराहारी अधिक तरलता छ । बैंकहरुको सीडी रेसियो ८०.४३ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर एक प्रतिशतमा छ । 

All financial information at your fignertips.

शेयर गर्नुहोस