पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


अर्थतन्त्र । नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान एक बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम इन्धनको मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर चार रुपैयाँ घटाएकोे छ । खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

घटेको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६० रुपैयाँ कायम भएको छ ।

यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर एक सय ५९ रुपैयाँ पर्नेछ । 

भारतबाट ग्यासको मूल्य बढेर आएको भए पनि हाललाई यथावत राखिएको निगमले जनाएकोे छ । खाना पकाउने एलपी ग्यासको मूल्य देशभर प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

शेयर गर्नुहोस