सेयरबजारमा लगातार चौथो दिन गिरावट, कारोबार रकम केही बढ्यो


बैंक खबर । सेयर बजार बिहीबार पनि घटेको छ । सोमबार देखि घटेको बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको हो । 

परिसूचक नेप्से १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा कायम भएको छ । बजार घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बिहीबार एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँको ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर किनबेच भयो । 

कारोबारमा आएका दुई सय ३९ कम्पनीमध्ये दुई सय एकको सेयरमूल्यमा आएको गिरावटले बजार दबाबमा परेको हो । बजार घटेपनि ३२ कम्पनीको सेयरमूल्य भने बढेको छ । छ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । 

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । सबैभन्दा धेरै जलविद्युत समूह १.७३ प्रतिशतले घटेको छ । त्यसपछि फाइनान्स समूह १.५९ प्रतिशत, होटल तथा पर्यटन १.५६ प्रतिशत, जीवन बीमा ०.९७ प्रतिशत, बैंकिङ ०.९१, लगानी ०.८५, उत्पादन तथा प्रशोधन ०.७७, निर्जीवन बीमा ०.६५, लघुवित्त ०.६५, विकास बैंक ०.५९, अन्य ०.५४ र व्यापार ०.३४ प्रतिशतले घटेका छन् । म्युचुअल फण्ड भने ०.११ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर शीर्षस्थानमा छ । सो कम्पनीको ११ करोड ६७ लाख १२ हजार तीन सय रुपैयाँ बराबरको कारोबार भयो । सोनापुर मिनरल्स आठ करोड ४९ हजार चार सय एक रुपैयाँ, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर पाँच करोड १९ लाख ४९ हजार एक सय ३१ रुपैयाँ, सोल्टी होटल चार करोड ३९ लाख ७० हजार दुई सय दुई रुपैयाँ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, रुरु जलविद्युत् परियोजना ५.६३, एनआइबीएल प्रगति फण्ड ३.८७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३.५२, एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड ३.४१ र छिमेक लघुवित्तका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाएका छन् ।

विजय लघुवित्त, माउण्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो ८.८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६७ प्रतिशतले गुमाएका छन् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस