वाणिज्य बैंकहरुको प्राथमिकतामा नगद लाभांश


बैंक खबर । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश वितरण घोषणा गरेका छन् । यसमध्ये केहीले साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसकेका छन् । 

अहिलेसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आइएमई र नबिल बैंकले लाभांश घोषणा गरेका हुन् । 

लाभांश घोषणा गरेका १० मध्ये ६ ओटा वाणिज्य बैंकले साधारणसभा सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया, सानिमा, सिटिजन्स र सिद्धार्थ बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् । यी कम्पनीले सेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । 

लाभांश घोषणा गरेकामध्ये केही बैंकले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गतवर्ष १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले ४.२१, सिटिजन्स बैंक इन्टरनेशनलले ५.७९ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिएका छन् । त्यस्तै ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । नेपाल एसबीआई बैंकले ६.८० प्रतिशत नगद लाभांश र ३.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।  

बोनस सेयर वितरण गर्दा कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र सेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मक रूपमा फाइदा नहुने भएपछि बैंकहरुले नगद लाभांशमा जोड दिएको देखिन्छ । नेपाली बजारमा बोनस सेयरलाई बढी प्राथमिकता दिइने भएकाले बैंकहरुले नगद लाभांशमा जोड दिँदा दोस्रो बजार प्रभावित हुनसक्ने विश्लेषकहरु बताउँछन् । तर लगानीकर्ताको हित र कम्पनीको दीर्घकालिन उन्नतिको लागि नगद लाभांश राम्रो मानिन्छ । कम्पनीले नगद लाभांशमा जोड दिँदा नेटवर्थ राम्रो हुन सक्छ । 

कम्पनीको चुक्ता पुँजी भन्दा जगेडा कोष बलियो हुँदा कम्पनीलाई दीर्घकालिन उन्नतीका लागि सहज हुन्छ । तर नेपालमा सेयर लगानीकर्ताले बोनस सेयर रुचाउने र कम्पनीले पनि बोनस सेयर वितरण गरी सेयरधनी खुशि पार्ने परिपाटी छ । यसपटक त्यो अवस्था रहेन । नेपालमा नियामक निकायहरुले पनि चुक्ता पुँजी बढाउन निर्देशन दिने परिपाटीले पनि बोनस सेयरलाई राम्रो मानिदै आएको छ । 

 

बैंकको नाम  बोनस सेयर नगद लाभांश कुल लाभांश
माछापुच्छ्रे बैंक १३.३ प्रतिशत  ०.७० प्रतिशत  १४ प्रतिशत
एभरेष्ट बैंक  १०  प्रतिशत १०.५३ प्रतिशत  २०.५३ प्रतिशत
नेपाल एसबीआई बैंक  ३.७५ प्रतिशत  ६.८० प्रतिशत  १०.५५ प्रतिशत
सिटिजन्स बैंक इन्टरनेशनल  -  ५.७९ प्रतिशत  ५.७९ प्रतिशत
सिद्धार्थ बैंक  -  ४.२१ प्रतिशत  ४.२१ प्रतिशत
एनआईसी एशिया  २९ प्रतिशत १.५३ प्रतिशत ३०.५३ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड  -  १९ प्रतिशत  १९ प्रतिशत
सानिमा बैंक  ९  प्रतिशत ५.७० प्रतिशत  १४.७० प्रतिशत
ग्लोबल आइएमई  १ प्रतिशत  ८ प्रतिशत  ९ प्रतिशत
नबिल बैंक  - ११ प्रतिशत  ११ प्रतिशत

 

All financial information at your fingertips.

शेयर गर्नुहोस