डिजेल र मट्टीतेलको मूल्य घट्यो


अर्थतन्त्र । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेको हो । बुधबार बिहान एक बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल प्रतिलिटर मूल्य १६४ रुपैयाँ कायम भएको छ। यसैगरी, दोस्रो वर्ग अर्थात् सुर्खेत र दाङमा डिजेल प्रतिलिटर १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । यस्तै, पहिलो वर्ग अथवा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजमा १६१.५० रूपैयाँ मूल्य कायम भएको छ । 

पेट्रोल, हवाइ इन्धन र एलपीग्यासको मूल्य भने निगमले यथावत राखेको छ । भारतबाट मूल्य बढेर आएको भएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चाडवाडको बेला मूल्य नबढाउन निर्देशन दिएपछि निगमले यथावत राखेको हो । 

इण्डियन आयल कर्पोरेशनले पेट्रोल र ग्यासको मूल्य बढाउर पठाएको भएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत राखेको निगमले बताएको छ । भारतले पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँ ५१ पैसाले बढाएर पठाएको छ । यस्तै ग्यासको मूल्य पनि प्रति सिलिण्डर ९३ रूपैयाँ ६० पैसाले बढाएर पठाएको छ । डिजेलको मूल्य भने प्रतिलिटर ३ रूपैयाँ ६३ पैसाले घटेर आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस