करिब दुई खर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा बक्यौता


बैंक खबर । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा बक्यौता छ । यो कर्जा १ लाख ४४ हजार ७ सय ५८ ऋणीले उपभोग गरेका छन् । 
प्रवाह भएको कुल सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ७ सय ८० ऋणीलाई प्रवाह भएको १ खर्ब ३६ अर्ब ३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ३ सय २३ महिला उद्यमीलाई प्रवाह भएको ५६ अर्ब ५८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५५ ऋणीको ३ अर्ब १ करोड रुपैयाँ कर्जा बक्यौता छ ।

के हो सहुलियतपूर्ण कर्जा ?
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।

सहुलियतपूर्ण कर्जा पाउन कहाँ निवेदन दिने ? 
सहुलियतपूर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

कस्तो व्यवसायका लागि सहुलियतपूर्ण कर्जा पाइन्छ ?
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागी कार्यबिधिको अनुसूची–१ मा तोकिएका व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा पाइन्छ ।
– व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म,
– शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म,
– विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म,
– महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म,
– दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, 
– उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म,
– भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म,
– कपडा उद्योग सञ्चालनको लागि ५ करोड रुपैयाँसम्म,
– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख रुपैयाँसम्म,
– युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँसम्म ।

सहुलियतपूर्ण कर्जा बारेको गुनासो कहाँ गर्ने ? 
सहुलियतपूर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस