कुमारी बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन


बैंक खबर । कुमारी बैंकले आज (कात्तिक २ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरको ऋणपत्र बिक्रीमा ल्याएको हो। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ । 

बैंकले एक हजार अंकित दरको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ। 

सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । ऋणपत्रको बिक्री निष्काशन छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गते बन्द हुनेछ । 

ऋणपत्रमा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

All financial information at your fingertips.

शेयर गर्नुहोस