कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


बैंक खबर । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरको १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ बिक्री निष्काशन गर्न लागेको हो ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको एक हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतममा ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन कात्तिक १२ गतेसम्म हुनेछ । सो अवधिसम्म माग भएजति ऋणपत्र बिक्री नभएमा कात्तिक १६गते सम्म आवेदन दिने अवधि लम्बिनेछ । 

ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको छ । 

ऋणपत्र खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस