फेरी १० अर्ब ऋण उठाउँदै सरकार


बैंक खबर । सरकारी खाता दबाबमा परेपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ । नेपाल राष्ट्र बैंकले असोज १८ गते बोलकबोलमार्फत विकास ऋणपत्र बिक्री गरी सरकारका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउन लागेको हो । 

राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८८ ‘ङ’ (८ वर्षे)’ नामको ऋणपत्र बोलकबोल गर्न लागेको हो । ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितोराखी कर्जा लिन/दिन पाइने छ ।

ऋणपत्रको बोलकबोल असोज १८ गते अपरान्ह ३ बजेसम्म हनेछ । असोज १९ गते निष्काशन हुने ऋणपत्रको साँवा भुक्तानी २०८८ असोज १९ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवाषिक रुपमा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।

ऋणपत्रमा घटीमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस