सूचीकृत कम्पनीहरुको नाफा खस्किएपछि सेयरबजारमा गिरावट


बैंक खबर । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरणले सेयर लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । परिणाम मंगलबार सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घटेर  २०४५.४४ विन्दुमा झरेको छ । कारोबार खुलेदेखि नै बजार घट्न थालेको थियो ।

सेयरबजारमा ब्लूचीप मानिएका अधिकांश कम्पनीहरुकै नाफा खस्किएको छ । केही कम्पनीले आकर्षक नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेपनि अधिकांशको नाफामा गिरावट आएको छ । केही कम्पनी नोक्सानीमा गएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले घटाएको बजार अब बीमा, जलविद्युत, लघुवित्त, उत्पादन तथा व्यापार लगायतका समूहका कम्पनीको विवरणले प्रभाव पार्ने देखिएको छ । 

कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयरमूल्यमा आएको गिरावटले बजार दबाबमा परेको हो । बजार घटेपनि २० कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटाको स्थिर रहेको छ । दुई अर्ब १५ करोड रुपैयाँ बराबरको ५६ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले गुमेको छ । बजार पुँजीकरण ३० खर्ब ६२ अर्बमा झरेको छ । 

यसदिन सेन्सिटिभ परिसूचक १.५७ प्रतिशत, फ्लोट सूचक १.५४ र सेन्सिटिभ परिसूचक १.७२ प्रतिशतले घटेका छन् । १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेकका सबै घटेका छन् । म्युचुअल फण्ड समूह २८.९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.२६ प्रतिशतले घटेको छ । यस समूहमा कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घटेको छ । 

यसपछि जलविद्युत समूह २.३१ प्रतिशत, फाइनान्स २.२४ प्रतिशत, होटल तथा पर्यटन २.१५ प्रतिशत, विकास बैंक १.८८ प्रतिशत, जीवन बीमा १.७९ प्रतिशत, निर्जीवन बीमा १.६६ प्रतिशत, लगानी १.१४ प्रतिशत, लघुवित्त १.०६ प्रतिशत, बैंकिङ ०.९२ प्रतिशत, अन्य ०.९० प्रतिशत र व्यापार ०.५० प्रतिशतले घटेका छन् । 

बजार घटेपनि इमर्जिङ नेपालका सेयरधनीले सर्वाधिक ५.१८ प्रतिशतले कमाएका छन् । हिमालयन डिस्टिलरीका सेयरधनीले सर्वाधिक ७.६९ प्रतिशतले गुमाएका छन् । सर्वाधिक सेयर कारोबार पनि हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको भएको छ । त्यसपछि शिवम् सिमेन्टको १८ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस