बैंकिङ समूह ओरालो लाग्दा घट्यो नेप्से


सेयर खबर । साताको दोस्रो दिन सेयरबजार घटेर बन्द भएको छ । परिसूचक नेप्से ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा झरेको छ । आइतबार बैंक तथा वित्तीय संस्थाले प्रभावित भएको बजारमा सेमबार भने ठूलो असर परेन । तर १३ उपसमूहमध्ये ९ वटा बढ्दा पनि मूल सूचक घटेर बन्द भएको छ । बैंकिङ समूहमा आएको गिरावटले बजार घटेको विश्लेषण गरिएको छ । 

यस्तै, करोबारमा आएका २२४ कम्पनीमध्ये आधाभन्दा धेरै अर्थात ११६ कम्पनीको सेयरमूल्य बढेपनि नेप्से हरियो बन्न सकेन । बजारमा एक सय कम्पनीको सेयरमूल्य घटेको छ भने ८ वटाको स्थिर रहेको छ । 

विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूह बढेका छन् । बैंकिङ, जलविद्युत, लगानी र अन्य समूह घटेका छन् । 

२ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण साढे ६ अर्ब रुपैयाँले घटेर ३० खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ । 

सूचीकृत भएको दोस्रो दिनमा नै आईएमई लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ४३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार धेरै भएपनि बजारमूल्य ५.६५ प्रतिशतले मात्रै बढेको छ । नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य भने दोस्रो कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कराोबार भएको छ । बजार बन्द हुन्दा रिपब्लिकको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 

All financial information at your gingertips.

शेयर गर्नुहोस