एघार महिनामा ११ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो


बैंक खबर । चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले बढी हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स अप्रवाह बढेको जनाएको हो । गत आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४ सय १५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस