वित्तीय प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा २९ अर्बको आवेदन


बैंक खबर । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको छ । दुई महिनाअघिसम्म तरलता अभावले कर्जा प्रवाह गर्न नसकेका बैंकहरू अहिले अधिक तरलताको स्थितिमा छन् । चर्को ब्याजदरका कारण कर्जाको माग पनि न्यून छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकहरूको निक्षेप ५६ खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४८ खर्ब ६२ अर्ब रूपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८३ दशमलव ४७ प्रतिशत छ । यो आधारमा अहिले पनि बैंकहरू तीन खर्ब ६६ अर्ब रूपैयाँ कर्जा प्रवाह गर्नसक्ने क्षमतामा छन् । 

तर, चर्को ब्याजदरका कारण बैंकमा कर्जाको माग निकै कम छ । त्यसो त आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरूले नयाँ कर्जा प्रवाह कम गर्छन् । यही कारण पनि कर्जा प्रवाह निक्षेप वृद्धिको तुलनामा कम छ । 

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि सोबार अन्तरबैंक ब्याजदर तीन प्रतिशत हाराहारी झरेको थियो । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा दुई प्रतिशत विन्दुले झरेपछि रिभर्स रिपो जारी गर्नुपर्ने व्यवस्था छ । असार दोस्रो सातापनि वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले दुई चरणमा २३ अर्ब रूपैयाँ खिचेको थियो । 

प्रणालीमा अधिकत तरलताको स्थिति देखापरेर अन्तरबैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले मंगलबार पुनः रिभर्स रिपो जारी गरेर २० अर्ब रूपैयाँ तरलता प्रशोचन गरेको हो । जसमा बैंकहरूले २८ अर्ब ८० करोड रूपैयाँको लागि आवेदन दिए । राष्ट्र बैंकका अनुसार ११ वटा बैंकले विभिन्न ब्याजदर कबुल गर्दै ६१ वटा आवेदन दिएका थिए । रिभर्स रिपोमा मागभन्दा बढी आवेदन परेपनि औसत ब्याजदर पाँच दशमलव शून्य पाँच प्रतिशत कायम भएकोछ । बैंकहरूले न्यूनतम चार दशमलव ४९ प्रतिशतदेखि अधिकतम पाँच दशमलव ३७ प्रतिशतसम्म ब्याज कबुल गरेका थिए । 

राष्ट्र बैंकले १० दिनका लागि वित्तीय प्रणालीको रकम तान्न मंगलबार रिभर्स रिपो जारी गरेको हो । यसअघि पनि राष्ट्र बैंकले असार ७ गते सात दिन अवधिका लागि १० अर्बरूपैयाँ र असार १० गते सात दिन अवधिका लािग २० अर्ब रूपैयाँको रिभर्स रिपो जारी गरेको थियो । त्यसअघि पनि गएको चैत १० गते तरलता परीक्षण गर्न सात दिन अवधिको पाँच अर्ब रूपैयाँको रिभर्स रिपो जारी गरेको थियो । 

असार ७ र १० गतेको रिभर्स रिपो परिपक्व भएपछि बैंकिङ प्रणालीमा रकम फर्किँदा अन्तरबैंक ब्याजदर तीन प्रतिशत हाराहारी झरेको थियो । राष्ट्र बैंकले २० अर्ब रूपैयाँ तानेपछि अन्तरबैंक सापटी पुनः माथि गएको छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो । 

पछिल्लो समय तरलता उच्च भएपछि ट्रेजरी बिलको ब्याजदर पनि घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार सरकारी ऋणपत्रको ब्याजदर यस वर्षकै न्यून विन्दुमा झरेको छ । डेढ महिनायता ट्रेजरी बिलको ब्याजदर घट्दो क्रममा छ । सोमबार राष्ट्र बैंकले जारी गरेकोे ऋणपत्रको ब्याजदर पनि घटेको थियो । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर पाँच दशमलव ६१ प्रतिशतबाट चार दशमलव ७३ प्रतिशत, ९१ दिन अवधिको छ दशमलव आठ बाट छ दशमलव शून्य पाँच, एक सय ८२ दिन अवधिको छ दशमलव ८९ बाट छ दशमलव ७१ प्रतिशत र तीन सय ६४ दिन अवधिको सात दशमलव १९ बाट सात दशमलमव शून्य चार प्रतिशतमा झरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस