'क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौतीलाई सम्बोधन गर्न नेपाल सक्षम छ' – गभर्नर अधिकारी


बैंक खबर । गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौतीलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका बारे जानकारी गराएका छन् । असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘द बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को ९३ औँ वार्षिक बैठकमा सहभागी भएका गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गरे । 

बैठकका दौरान गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

बैठकमा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित 'Policy Approaches for Addressing Risks Posed by Crypto Assets and Decentralized Finance' विषयक अन्तरक्रियामा सहभागी भए । यस्तै, असार १० गते 'Overcoming Cross-border Payment Challenges for Emerging Markets and Developing Economies (EMDEs)' विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा समेत सहभागि भएका थिए । 

बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो । बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए । 

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस