बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ४४ अर्ब पुग्यो


बैंक खबर । बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाहित गरेको कर्जा साढे तीन खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको अर्थधावर्षिक प्रतिवेदन अनुसार २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा १४.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २५.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ८६ अर्ब ८७ करोड रुपैयाँ कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ । सबैभन्दा कम सिँचाईमा १६ करोड ४ लाख रुपैयाँ प्रवाह भएको छ । 

कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.८ प्रतिशत, मधेश प्रदेशको अंश १६.३ प्रतिशत, बागमती प्रदेशको अंश ३५.९ प्रतिशत, गण्डकी प्रदेशको अंश ८.९ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.३ प्रतिशत, कर्णाली प्रदेशको अंश १.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ५.२ प्रतिशत छ ।

सहुलियतपूर्ण कृषि कर्जा 
२०७९ पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जातर्फ १ लाख ४८ हजार ३ सय ४२ ऋणीलाई २ खर्ब १० अर्ब ४५ करोड रुपैयाँ ऋण लगानीमा रहेको छ । यस अवधिमा प्रवाहित सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसायतर्फ ६१ हजार ५६ ऋणीलाई १ खर्ब ४१ अर्ब २१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । अन्य बाँकी शीर्षक अन्तर्गत ८७ हजार २ सय ८६ ऋणीको ६९ अर्ब २४ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।


 

All financial information at your fingertips.

शेयर गर्नुहोस