१० प्रतिशत ब्याज भुक्तानी गरेर कर्जा पुनर्तालिकीकरण गर्न सकिने 


बैंक खबर । आर्थिक कठिनाइका कारण बैंकको कर्जा भुक्तान गर्न नसकेका ऋणीको कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट प्रदान गरेको कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । 

निर्देशन अनुसार ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औतित्यको आधारमा ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी तोकिएका शर्तहरुको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनर्संचरना गर्न सकिने छ । निर्देशनमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र  ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेछ ।’

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ । २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यस्तो कर्जालाई जुन वर्गमा बर्गीकरण गरिएको छ सोही वर्गमा बर्गीकरण गर्नुपर्नेछ ।

२०७९ चैत मसान्तमा असल वर्गमा बर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तभित्र तीन महिनाको लागि म्याद थप गर्न सकिनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस