यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान


२०८२ असार २४ गते मंगलबार ।

काठमाडौँ । नेपाल जनप्रशासन संघले यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। न्याय क्षेत्रको नेतृत्व, संस्थागत विकास तथा समावेशी लोकतन्त्रप्रतिको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मानित गर्न लागिएको संघले जानकारी दिएको छ । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मधुरमण आचार्यले असार २६ गते विशेष समारोहबीच उक्त सम्मान प्रदान गरिने जानकारी दिए। सो सम्मान पुरस्कारको राशि दुई लाख रुपैयाँको रहेको छ । 

कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बनेका थिए । संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरणीय न्यायका क्षेत्रमा उनले देखाएको अडान र विचारलाई मूल्याङ्कन गर्दै यो सम्मान दिने निर्णय गरिएको हो।

सम्मान छनोट समितिको संयोजकत्व लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले गरेका थिए। समितिमा सङ्घका अध्यक्ष आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा रहेका थिए।

ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको थियो ।
सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई बर्सेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । 

यसअघि यो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन्।

शेयर गर्नुहोस