घट्यो नेपाल टेलिकमको नाफा
२०८१ माघ ३० गते बुधबार ।
कर्पोरेट । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत कम हो। गत वर्ष पुसमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेको देखिन्छ । कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि गतवर्ष भन्दा १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ४०६ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ।