अर्थतन्त्र सुधारोन्मुख छ, मूल्यवृद्धि घट्दो क्रममा छ – गभर्नर अधिकारी


बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक वृद्धिदर औसतमा रहने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा उनले महँगीदरका कारण आर्थिक वृद्धिदर औसतमा रहने बताएका हुन् । 

उनले ब्याजदरमा देखिएको वृद्धिको फलस्वरूप कर्जाको मागमा समेत कमी आएको तथा सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नाले समष्टिगत माग कमजोर रही आर्थिक गतिविधिमा भने केही शिथिलता आएको बताए । करिब चार सय मेगावाटको थप जलविद्युत्को उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने बताएका हुन । उनले पछिल्ला महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको उल्लेख गरे ।

आयातमा कमी आउँदा चालु आर्थिक वर्षमा सरकारको राजस्व सङ्कलन गत वर्षभन्दा घटेको छ । कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आयात नियन्त्रणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्था हटाइएको र आयात बढ्ने क्रममा रहेकोले आगामी महिनामा राजस्व परिचालनमा सुधार हुने अपेक्षा राखिएको बताए । अनावश्यक खर्च कटौती, राजस्व चुहावट नियन्त्रण, राजस्वको दायरा फराकिलो पार्दै र वैदेशिक सहयोग परिचालन बढाउँदै जानुपर्ने उल्लेख गरे । 

आर्थिक गतिविधिमा आएको केही शिथिलताले गर्दा बैंकिब प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको अवस्था छ । तापनि, २०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जाको अनुपात कुल कर्जाको २.६ प्रतिशत रहेको, खुद तरल सम्पति कुल निक्षेपको २४.३ प्रतिशत रहेको र जोखिम भारित सम्पतिको १२.९ प्रतिशत कुल पुँजीकोष अनुपात रहेकोले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको बताए ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस