झुत्रो नोट कहाँबाट साटन सकिन्छ ?


बैंकको खबर । तपाईंले प्रयोग गरेको नोट झुत्रो भयो अर्थात फेरि प्रयोग गर्न गाह्रो हुने भयो भने आत्तिनु पर्दैन । नेपाल राष्ट्र बैंकले झुत्रो बनेको नोट साटने व्यवस्था गरेको छ । 

कहाँबाट सटन सकिन्छ झुत्रो नोट ?
च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोट कोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड)बाट साटन सकिन्छ । 

नोटहरु धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिंगो नोटबराबरको कागजको टुक्रा टाँसी साट्न सकिन्छ ।

कस्तो नोट साटन सकिन्न ?
धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना हुँदैन । यस्ता नोटहरु जफत गरिन्छ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ । 

नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन नोटको जतन गरी प्रयोग गरौं । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस