विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो


२०८१ पुस २६ गते शुक्रबार । 

बैंकको खबर । विदेशी विनिमय सञ्चिति बढेर मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ बराबर पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति २०८१ मंसिर मसान्तसम्म ११.४ प्रतिशतले बढेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा
१८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड पैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भई २ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ । 

२०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १८ दिनको वस्तु आयात र १४ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस