अमेरिकी डलरको भाउले फेरी बनायो नयाँ रेकर्ड, अर्थतन्त्रमा कस्तो असर पर्छ ?


बैंकको खबर । आज (२०८१ कात्तिक २ गते शुक्रबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा र खरिददर १३४ रुपैयाँ २२ पैसा तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । 
विगतको मूल्य हेर्दा अमेरिकी डलरले असोज २६ गते १३४ रुपैयाँ ८० पैसा र त्यसअघि भदौ २१ गते १३४ रुपैयाँ ६८ पैसाको रेकर्ड बनाएको थियो । 

नेपाली रुपैयाँ अवमूल्यनको कारण
भारतीय रुपैयाँ कमजोर बन्दै गएका कारण नेपाली रुपैयाँ पनि अवमूल्यन भएको हो । किनभने नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । 
रुस–युक्रेन युद्ध चर्किदै गएको र मध्यपूर्वमा पनि युद्ध झन बढ्ने देखिएपछि लगानीकर्ताहरुले डलरमा लगानी बढाएका छन् । जब लगानीकर्ताहरुले डलर किन्न अन्य मूद्राहरु प्रयोग गर्छन तब डलरको मूल्य बढ्छ भने अन्य मूद्राहरु अवमूल्यन हुन्छन् । विश्वमा भू–राजनीतिक तनाव बढ्दै जाँदा लगानीकर्ताले सुरक्षित लगानीका लागि डलर र सुन रोज्छन् । किनभने अमेरिकी अर्थतन्त्र निकै ठूलो छ र यसलाई सुरक्षित स्थान मानिन्छ । जसका कारण पनि अहिले डलरको भाउ बढीरहेको छ ।

डलर महँगीदा अर्थतन्त्रमा कस्तो असर पर्छ ?
डलर महँगो हुने वित्तीकै नेपालका लागि समान आयात महँगो हुन्छ । विदेश भ्रमण र अध्ययन पनि महँगो बन्छ । सरकारलाई वैदेशिक ऋणको भार बढ्छ । तर रेमिट्यान्स बढी आउन सक्छ, नेपाल घुम्न आउने विदेशी पर्यटकले बढी पैसा खर्च गर्न सक्छन् । निर्यातकर्तालाई फाइदा पुग्छ । 
 

डलरको मूल्य बढ्दा अर्थतन्त्रमा हुने बेफाइदा
आयात

नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । निर्यात भन्दा आयात १० गुणा बढी छ । त्यसैले डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ । ब्यापार घाटा झन बढेर जान्छ । ब्यापार घाटा बढ्दाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ । विदेशी मुद्राको सञ्चिति पनि घट्छ ।
मूल्यवृद्धि (महँगी)
डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन्छ । सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि भारु अवमूल्यन हुँदा हुने महँगी यता सर्न सक्छ । इन्धनको मूल्य थप बढेर जान्छ । 
विदेश भ्रमण र विद्यार्थी शुल्क
नेपालबाट हजारौं विद्यार्थीहरु विदेशमा पढ्न गएका छन् । उनीहरुले त्यहाँ विदेशी मुद्रामा शुल्क बुझाउनु पर्छ । डलरको भाउ बढ्ने वित्तीकै ति विद्यार्थीको परिवारमाथि भार पर्छ । वैदेशिक भ्रमणमा जाने नेपालीहरुले पनि बढी पैसा खर्च गर्नुपर्छ । नेपालबाट विदेश भ्रमणमा जाने नेपालीहरुको संख्या पनि निकै धेरै छ । डलरका लागि नेपाली रुपैयाँ धेरै तिर्नुपर्ने हुँदा विदेशमा पुगेका नेपालीको पढाइ शुल्क, कोठा भाडा र खाना सबै कुरा महँगो हुन्छ । 
सरकारलाई ऋणको भार बढ्छ
नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ । विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनेर बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ । यसबाट सरकारलाई अप्ठेरो पर्न सक्छ ।
विदेशी लगानीबाट सञ्चालन भएका आयोजनाको लागत पनि बढ्न जान्छ । जसबाट अर्थतन्त्र प्रभावित हुन्छ । 

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा बढी हुने देखिन्छ ।

डलरको मूल्य बढ्दा अर्थतन्त्रमा हुने फाइदा

डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुँदा केही फाइदा पनि हुन्छ । वस्तु निर्यात, पर्यटन क्षेत्र, रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ ।  
निकासीमा फाइदा
नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा सस्तो पर्न जान्छ । यसले निर्यातलाई टेवा पुग्न सक्छ । तर नेपालको निर्यात सीमित भएकाले यसबाट निकासीकर्तालाई फाइदा पुग्ने बाहेक अर्थतन्त्रमा धक्का लाग्ने गरी फाइदा पुग्ने देखिदैन । निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि सीमित नै हुन्छ ।
पर्यटनमा फाइदा
विदेशी मुद्राको भाउ बढ्दा नेपालको पर्यटन क्षेत्रको आम्दानी बढ्छ । नेपाली मुद्रा सस्तो हुँदा विदेशी पर्यटकलाई नेपाल घुम्न आउन सस्तो पर्छ र खर्चको हिसाबले प्रोत्साहन मिल्छ । 
पर्यटन क्षेत्रको योगदान नेपाली अर्थतन्त्रमा राम्रै रहेकाले अर्थतन्त्रमा यसले राम्रै असर पार्न सक्छ । नेपालका लागि पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत पनि हो । यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा राम्रै फाइदा पु¥याउँछ । 
विदेशी लगानीकर्तालाई फाइदा
नेपालमा लगानी गर्न खोज्ने विदेशी लगानीकर्तालाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन गर्न सक्छ । 
रेमिट्यान्स आप्रवाहमा फाइदा
लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा छन् । धेरै नेपालीले विदेशमा कमाएको पैसा महिनैपिच्छे नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ । रेमिट्यान्स आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ ।

शेयर गर्नुहोस