सरकारको ऋण दायित्व २५ खर्ब २८ अर्ब रुपैयाँ पुग्यो


बैंकको खबर । सरकारको तिर्न बाँकी ऋण दाियत्व २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा एक खर्ब चार अर्ब पाँच करोड २१ लाख रुपैयाँ ऋण थपिएपछि सरकारको ऋण दायित्व २५ खर्ब नाघेको हो । 

गत आर्थिक वर्ष (२०८०/८१)को अन्तिममा सरकारको जम्मा ऋण दायित्व १४ खर्ब ३४ अर्ब नौ करोड ९८ लाख रुपैयाँ थियो । 

साउन र भदौमा सरकारले ३९ अर्ब ६७ करोड २१ लाख रुपैयाँ साँवा तथा ब्याज भुक्तानी गरेको छ । 

गुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक ऋणको हिस्सा ४४ दशमलव ३२ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आफ्नो मासिक विवरणमा उल्लेख गरेको छ । 

आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब रुपैयाँ
सरकारले साउन र भदौमा ९० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । अहिलेसम्म तिर्न बाँकी आन्तरिक ऋण दायित्व १२ खर्ब ३५ अर्ब ९० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो ऋण ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ थियो । 

यस अवधिमा सरकारले आन्तरिक ऋण तर्फ ३५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको हिस्सा २१ दशमलव ६६ प्रतिशत छ । 

बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ
भदौ मसान्तसम्म सरकारले लिएको बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ पु्गेको छ । साउन र भदौ महिनामा मात्रै १४ अर्ब पाँच करकोड २१ लाख रुपैयाँ बाह्य ऋण थपेको छ । गत असार मसान्तमा सरकारको बाह्य ऋण दायितव १२ खर्ब ५३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ थियो । 

कुल गार्हस्थ्य उत्पादनमा बाह्य ऋणको हिस्सा २२ दशमलव ६६ प्रतिशत छ । 

सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये भदौ महिनासम्म एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ प्राप्ति गरिसकेको छ । जुन वार्षिक लक्ष्यको १८.६६ प्रतिशत हो । 

All banking information at your fingertips.

शेयर गर्नुहोस