बैंकहरुको निक्षेप ६५ खर्ब नाघ्यो, कर्जाको माग अझै बढ्न सकेन


बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले हालसम्म संकलन गरेको निक्षेपको आकार ६५ खर्ब रुपैयाँ नाघेको छ । भदौ राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २६ गतनेसम्मको तथ्यांकअनुसार वित्तीय प्रणालीमा संकलन भएको कुल निक्षेप ६५ खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कुल ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । 

वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले सात खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कुल पाँच खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 
बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशतसमम कर्जा लगानी गर्न पाउँछन् । तर अहिले बैंकहरुले ७८.७८ प्रतिशतसम्म मात्रै कर्जा लगानी गरेको देखिन्छ । बजारमा कर्जाको माग न्यून भएकाले कर्जा विस्तार बढ्न नसकेको बैकर बताउँछन् । 

कर्जाको माग निकै भएको तर निक्षेपको वृद्धि उच्चदरमा रहेकाले बैंकहरुले नयाँ कर्जा आकर्षित गर्न ब्याजदर घटाउँदै लगेका छन् । असोज महिनामा पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । ब्याजदर घट्दै गएपनि कर्जाको माग बढ्न सकेको छैन ।

कर्जा बढ्न नसक्नुको एउटै कारण बजारमा उपभोग घट्दै जानु हो । एकातिर उपभोग गर्ने जनशक्ति विदेशिएको छ भने अर्कोतिर गतवर्ष भएको महँगीले मानिसहरुको क्रय क्षमता घटेर गएको छ । 

सेयरबजारमा कारोबार बढेको भएपनि घरजग्गा, उद्योग र व्यापार क्षेत्र अझै प्रभावित छ । घरजग्गा कारोबार बढ्ने, उत्पादन बढ्ने र व्यापार बढ्ने नहुँदासम्म कर्जाको माग बढ्न सक्दैन । 

सरकार र केन्द्रीय बैंकले बजार चलायमान बनाउन केही नीतिगत सुधार गरेका छन् तरपनि बजारमा दिगो सुधार हुन सकेको छैन ।  
 

All banking information at your fingertips.

शेयर गर्नुहोस