सेयरबजारमा भारी गिरावट, नेप्से २५ सयको लाइनमा झर्यो


बैंकको खबर । सेयरबाजरमा सोमबार भारी गिरावट भएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा झरेको छ ।

कारोबार भएका २४४ कम्पनीमध्ये २२७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । बजार घटेपनि यस दिन १४ कम्पनीका सेयरधनीले भने कमाएका छन् । बाँकी तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भयो । बजार बन्द हुँदा आत्मनिर्भरको सेयरमूल्य १० प्रतिशत र हिमायलन हाइड्रोपावरको ९.९९ प्रतिशत बढेको छ । यसबाहेक जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ९.९२ प्रतिशत बढेको छ ।

बजार बन्द हुँदा सबैभन्दा धेरै गुडविल फाइनान्सका सेयरधनीले ९.९१ प्रतिशत गुमाएका छन् । थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य पनि ९.३६ प्रतिशत घटेको छ ।

बजारमा गिरावट आउँदा कारोबार रकम पनि खुम्चिदै गएको छ । आइतबार १० अर्ब बढीको सेयर कारोबार भएकामा सोमबार ७ अर्ब ३६ करोड २० लाख रुपैययाँ बराबरको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति ९१ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४१ खर्ब तीन अर्ब रुपैयाँमा झरेको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण ३१ अर्ब रुपैयाँ घटेर १४ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस