बैंकहरुको निक्षेप ६५ खर्ब पुग्न लाग्यो, कर्जा विस्तार अझै सुस्त


बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आकार करिब ६५ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २५ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।भदौ २५ गते एक दिनमा निक्षेप १७ अर्ब रुपैयाँ बढेको छ ।

निक्षेप संकलनको तुलनामा कर्जा विस्तार निकै सुस्त देखिएको छ । वस्तु उत्पादनमा कमी आउँदा बजारमा कर्जाको माग घटेर गएको अर्थशास्त्रीहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाले भदौ २५ गतेसम्म ५२ खर्ब नौ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो दिन कर्जा प्रवाह चार अर्ब रुपैयाँले घटेको देखिन्छ ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप एक दिनमा १८ अर्ब रुपैयाँ बढेको देखिन्छ । तर विकास बैंक र फाइनान्स कम्पनीहरुको एक अर्ब रुपैयाँ घटेको छ । भदौ २५ गतेसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीहरुले सात खर्ब २७ अर्ब रुपैयाँ संकलन गरेका छन् । सो दिनसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा ४६ खर्ब १० अर्ब रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा छ खर्ब रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थाले संकलन भएको निक्षेपको (सीडी रेसियो) ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । तर कर्जाको माग न्यून हुँदा बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ७८.८० प्रतिशत कर्जा प्रवाह गरेका छन् । यस आधारमा बैंक तथा वित्तीय संस्थाले थप छ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छन् । तर कर्जाको माग नै नभएपछि बैंकहरुको कर्जा विस्तार सुस्त देखिएको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस