भारतीय अर्बपति अडानी परिवारको सम्पत्ति ९५ प्रतिशत बढ्यो


अन्तर्राष्ट्रिय खबर । अडानी समूहका अध्यक्ष गौतम अडानी र उनको परिवारको कुल सम्पत्ति एक वर्षमा ९५ प्रतिशतले बढेर ११.६२ लाख करोड भारतीय रुपैयाँ (भारु) पुगेको छ । 

अडानी परिवारले पछिल्लो एक वर्षमा आफ्नो कुल सम्पत्तिमा ५,६५,५०३ करोड भारु थपेको छ । योसँगै अडानी परिवारले रिलायन्सका मालिक मुकेश अम्बानी परिवारलाई उछिन्दै देशको सबैभन्दा धनी परिवार बनेको छ । अम्बानी परिवारको सम्पत्ति १०.१५ लाख करोड रुपैयाँ छ । अम्बानीको सम्पत्ति एक वर्षमा २५ प्रतिशतले वृद्धि भएको छ ।

‘हुरुन इन्डिया रिच लिस्ट २०२४’ रिपोर्टमा यो जानकारी आएको छ । उक्त रिपोर्टमा भनिएको छ, ‘हिन्डनबर्गको आरोपपछि फिनिक्स जस्तै माथि उठ्दै गौतम अडानी र परिवारले गत वर्षको तुलनामा ९५ प्रतिशत सम्पत्ति वृद्धिका साथ यस वर्षको वरीयतामा शीर्ष स्थानमा रहेका छन् ।’

एचसीएलका मालिक शिव नाडर र परिवार ३.१४ लाख करोड रुपैयाँ र सीरम इन्स्टिच्युटका मालिक साइरस एस. पूनावाला र परिवार २.९० लाख करोडको सम्पत्तिसहित सूचीमा तेस्रो र चौथो स्थानमा छन् ।
 

भारतमा अर्बपतिको संख्या ३३४ पुग्यो

प्रतिवेदनअनुसार अहिले भारतमा अर्बपतिको संख्या ३३४ पुगेको छ । हुरुन लिस्ट १३ वर्षअघि स्थापना भएदेखि ६ गुणा बढेको छ । संचयी सम्पत्ति ४६ प्रतिशतले बढेको छ भने औसत सम्पत्ति २५ प्रतिशतले बढेको छ ।

 

२०८१, भदौ १३ गते बिहीबार

शेयर गर्नुहोस