बैंकिङ क्षेत्रमाथिको आक्रमणले वैदेशिक लगानी बन्द हुनसक्छ : बैंकर्स संघ


बैंक खबर । नेपाल बैंकर्स संघले पछिल्लो समय सडकबाट बैंकमाथि भइराखेको आक्रमणले विदेशी लगानी भित्रिन बन्द हुने जोखिम निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेको छ । बिहीबार पत्रकारहरुसँगको नियमित भेटघाट कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमाथि आक्रमण हुँदा त्यसले विदेशी दाताहरुमा नकारात्मक असर परिरहेको र उनीहरुबाट सोधखोज हुन थालेको बताएका हुन् । त्यसैले यस्तो गतिविधि नरोके विदेशी लगानी आउन बन्द हुनसक्ने जोखिम रहेको उनले बताएका हुन । उनले भने ‘अहिले केही बैंकले विदेशी बैंकहरुबाट पैसा ल्याइरहेका छन त्यसैले उनीहरु नेपालमा के भइराखेको छ भनेर भनिरहेका छन् ।’

अध्यक्ष केसीले अहिले बैंकहरुको कर्जाको ब्याजदर १३ प्रतिशत आसपास रहेको उल्लेख गर्दै यो ब्याजदर विगतमा हेर्दापनि नेपालका लागि औसत भएको बताए । उनले भने ‘नेपालमा सामान्यतया कर्जाको ब्याजदर १२/१३ प्रतिशत नै रहने गरेको छ । त्यसैले अहिलेको ब्याजदर पनि उच्च होइन ।’ ब्याजदर भन्दा अन्य कुराहरुले धेरै असर गरेको उनको दाबी थियो । उनले बैंक विरुद्ध भइराखेका अराजक गतिविधिलाई बन्द गर्नुपर्ने बताए । 

All financial information at your fingertips.

शेयर गर्नुहोस