सञ्चित नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाले पनि ऋणपत्र निष्काशन गर्न पाउने


बैंक खबर । नेपाल राष्ट्र बैंकले सञ्चित नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न दिने भएको छ । यस्तै पुँजीकोष अभाव भएका बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था पनि गरेको छ ।

राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा वित्तीय संस्थाले डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्नसक्ने व्यवस्था गरेको छ । अर्थात् पाँच प्रतिशतभन्दा कम सञ्चित नोक्सानी भएका बैंक तथा वित्तीय संस्थाले डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निवेदन दिएपछि आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिनसक्ने व्यवस्था गरेको छ । यसअघि भने सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा वित्तीय संस्थाले मात्रै आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न निवेदन दिनसक्ने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले ‘टायर वान क्यापिटल’ कम भएर लगानी गर्न नसकेका बैंकहरुका लागि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था गरेको जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस