घटे मोबाइल बैंकिङ प्रयोगकर्ता


बैंक खबर । कोभिड–१९ महामारीपछि नेपालमा डिजिटल बैंकिङ कारोबार बढेको थियो । बैंकहरुले मोबाइल बैंकिङ कारोबारको प्रवर्धनमा ठूलो लगानी गरेको र कारोबारका लागि बैंक पुग्नुपर्ने, पैसा बोक्नुपर्ने झन्झट नहुने भएपछि यसको कारोबार बढेको देखिन्छ । 

कोभिड महामारी अघि केही लाखले मोबाइल बैंकिङ प्रयोग गरेकामा २०७९ असारसम्म आइपुग्दा एक करोड ८३ लाख सात हजारले मोबाइल बैंकिङ प्रयोग गरेका थिए । २०८१ वैशाख महिनामा आइपुग्दा यो संख्या दुई करोड ३७ लाख ९७ हजार ६८० पुगेको छ ।
कोभिड–१९ महामारीपछि मोबाइल बैंकिङ प्रयोगकर्ता हरेक महिना बढ्दै गएको बैंक तथा वित्तीय संस्थाको तथ्यांकमा देखिन्छ । तर यस वर्ष वैशाख महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैतमा दुई करोड ४० लाख ५३ हजार ६ सय २९ जनाले मोबाइल बैंकिङ प्रयोग गरेकामा २०८१ वैशाखमा यो संख्या घटेर दुई करोड ३७ लाख ९७ हजार ६८० मा झरेको छ । एक महिनामा दुई लाख ५५ हजार ९४९ जनाले मोबाइल बैंकिङ प्रयोग गर्न छाडेको देखिन्छ । 

एउटै व्यक्तिले धेरै बैंकको मोबाइल बैंकिङ प्रयोग गरेको र नवीकरण नगरेको अवस्थामा मोबाइल बैंकिङ प्रयोगको संख्या घट्न सक्ने बैंकहरुको भनाइ छ । 

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेको भएपनि इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा १९ लाख ४ हजार ७७३ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ वैशाखमा १९ लाख ३८ हजार ८८८ पुगेको छ । 
कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या पनि केही बढेको छ । २०८० चैतमा १२ लाख ४० हजार ६६६ प्रयोगकर्ता रहेकामा २०८१ वैशाखमा बढेर १२ लाख ५१ हजार ४४० पुगेको छ । 

मोबाइल वालेट प्रयोगकर्ताको संख्या पनि बढेको छ । २०८० चैतमा दुई करोड २२ लाख ७७ हजार ४२३ जनाले मोबाइल वालेट प्रयोग गरेकामा २०८१ वैशाखमा त्यो संख्या बढेर दुई करोड २६ लाख १५ हजार १२२ पुगेको छ । एक महिनामा मोबाइल वालेट प्रयोगकर्ताको संख्या तीन लाख ३७ हजार ६९९ ले बढेको छ । 

डेविट कार्ड प्रयोगकर्ता २०८० चैतमा एक करोड २७ लाख १४ हजार ८६१ रहेकामा २०८१ वैशाखमा एक करोड २७ लाख ८९ हजार ६५६ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ता २०८० चैतमा दुई लाख ८४ हजार ६७२ रहेकोमा २०८१ वैशाखमा दुई लाख ८६ हजार २५३ पुगेको छ । प्रिपेड कार्ड प्रयोगकर्ता २०८० चैतमा एक लाख ६६ हजार ९६५ रहेकोमा २०८१ वैशाखमा बढेर एक लाख ७१ हजार ४१८ पुगेको छ । 

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेपनि वैशाखमा कारोबार भने बढेको छ । वैशाख महिनामा मात्रै मोबाइल बैंकिङबाट तीन खर्ब २० अर्ब १९ करोड रुपैयाँ बारबरको कारोबार भएको छ । २०८० चैतमा यस्तो कारोबार दुई खर्ब ९८ अर्ब ९७ करोड १० लाख रुपैयाँ भएको थियो ।

२०८० चैतको तुलनामा २०८१ वैशाखमा इन्टरनेट बैंकिङ कारोबार घटेको देखिन्छ । चैतमा इन्टरनेट बैंकिङबाट १४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बारबरको कारोबार भएकामा वैशाखमा १२ अर्ब ७७ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार भएको छ । 
कनेक्ट आइपीएसबाट हुने कारोबार भने बढेको छ । २०८० चैतमा पाच खर्ब १३ अर्ब १२ करोड ८० लाख रुपैयाँको कारोबार भएकामा २०८१ वैशाखमा पाँच खर्ब २२ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस