घरजग्गामा सहकारीको लगानी बन्द गर्न रास्वपाको सुझाव


बैंक खबर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीबाट घरजग्गामा हुने लगानी बन्द गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको छ । 

रास्वपाले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन मंगलबार रास्वपा सभापति रवि लामिछाने र उपसभापति वाग्लेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् । 

रास्वपाले बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता तथा कार्यक्षेत्र विस्तारको अुनमति एक वर्षका लागि बन्द गर्न र घरजग्गा लगायतका अनुत्पादनशील क्षेत्रमा गरिने लगानी बन्द गर्न सुझाव दिएको छ । 

यस्तै ५० करोड रुपैयाँ भन्दा बढी करोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकअन्तर्गत लयाउन पनि सुझाव दिएको छ । 

बचत फिर्ता गर्न नसक्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको सम्पत्ति विक्री गरी बचतकर्ताको पैसा फिर्ता दिनुपर्ने, ऋण नतिर्नेलाई कालोसूचीमा राखेर ऋण असुली गर्नुपर्ने, उत्पादनमुखी सहकारीमा पुँजी केन्द्रित गर्नुपर्ने लगायतका सुझाव पनि प्रतिवेदनमा समेटेको छ । 

भेटमा प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफू सक्रिय भइरहेको बताएका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस