नागरिक बचतपत्र भनेको के हो ? विस्तृतमा हेर्नुहोस्

नागरिक बचतपत्र भनेको के हो ? विस्तृतमा हेर्नुहोस्

बैंक खबर । नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ । 

उद्देश्य 
अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु रहेको छ । 

निष्कासन प्रक्रिया 
नागरिक बचतपत्र तोकिएको अवधिभित्र OTC (Over the Counter) प्रक्रियाबाट निष्कासन गरिन्छ । बिक्री

खुला, बन्द र निष्कासन मिति 
नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । 

अवधि र कुपन (ब्याज) दर 
नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर (Coupon Rate) नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ । 

खरिदकर्ता 
नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्दछन्।

खरिद गर्न सकिने रकम 
घटीमा १० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । 

बिक्री प्रवन्धक 
प्राथमिक निष्कासनको समयमा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय र बजार निर्माता बिक्री प्रवन्धक रहने व्यवस्था छ । 

आवेदन फारम 
प्राथमिक निष्कासनको समयमा आवेदन फारम नेपाल राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी वा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय वा बजार निर्माता मार्फत उपलब्ध हुन्छ । 

आवेदन फारम र रकम पेश गर्ने स्थान 
नागरिक बचतपत्र खरिद आवेदन फारम र खरिद गर्न चाहेको रकम देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सकिन्छ । 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात 
नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन साथ नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा तोकिए बमोजिमका अन्य कागजात पेश गर्नुपर्दछ । 

बाँडफाँट
आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ । 

खण्डित अवधिको ब्याज 
आवेदन साथ रकम बुझाएको मिति देखि निष्कासन मिति भन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्रदान गरिन्छ । 

दोस्रो बजार कारोबार 
नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देश भरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरू मार्फत गर्न सकिन्छ । 

सूचना 
नागरिक बचतपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np), राष्ट्रिय स्तरका दैनिक पत्रिका तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित गरिन्छ । 

प्रमाणपत्र 
सफल आवेदनकर्तालाई प्रमाण स्वरूप तोकिएको ढाँचामा प्रमाणपत्र उपलब्ध गराइन्छ । यस्तो प्रमाणपत्र प्रमिशरी नोट वा स्टककोरूपमा आवेदन पेश गरेको कार्यालयबाट उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने हो खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट नै प्रदान गरिने व्यवस्था छ । 

ब्याज तथा साँवा भुक्तानी 
नागरिक बचतपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । 

ब्याज गणना विधि
नागरिक बचतपत्रको लागि निर्धारित ब्याज हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिन बराबरको एक महिना मानी गणना गर्नु पर्दछ । 

आयकर सम्बन्धी व्यवस्था
नागरिक बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ । 

प्रयोग 
नागरिक बचतपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन दिन पाइने व्यवस्था छ । 

फाइदा 
नागरिक बचतपत्रमा लगानी गर्दा ६÷६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस